Wednesday, October 6, 2010

कविता : खै! कसरि दिऊ म शुभ-कामना ??

समयको जीवनरेखाले पुन:
खण्डहर बस्तीको आगनमा
आतंकित, विष्मित मन-मनमा
दशैंको थाली सुम्पिएको छ |
विगतका दशैंमा रौनकता छाउने मन
किन-किन ? यसपाली त
सम्पन्नताको हरिया फाँटमाथिपनि
विपन्नताको झरीमा रुझिरहेछ |
प्रत्येक ढुंगामाटाका डल्ला-डल्लाहरुमा
परिश्रमको ब्याड सम्याउदै
थकित चाहना, निरास नयन लिएर
नियालिरहेछु मोक्ष्य रेखाहरू
दशैंको जवानिभित्र
बारुदको मालाले सुसज्जित
समवेदनाको समयमा
क-कसलाई कसरि दिऊ म दशैंको ?
मंगलमय शुभ-कामना |

हासोको खित्काहरू थुनेर
आशुको बलेसी जन्माउदै
नागासाकी र हिरोसिमाको चित्कार
इराकमा नेपाली संहारको आर्तनाद
दोहोरयाउने साहसी समय समीप
संसारलाई खै! कहाँनेर विश्वास गरौ म
मान्छे पडकन्छ, धर्ति पडकन्छ
षड्यन्त्र, अन्तर्घातको जालले छोपेर
आफन्तमा अन्धकार छाउछ |
रगतका फाल्सा बगेर
अमेजनको लम्बाई खोज्ने
समयका धारिला पाइलाहरूमा
आफ्ना पाइलाहरू चालेर
खै ! कसरि दिऊ म दशैंको ?
मंगलमय शुभ-कामना ||

ढुकुरको समलाप्लाई
लाटोकोसेराले भङ्ग गर्छ
परेवाको शान्तिदीप
बाजले निभाउछ |
त्यसैले रुने गर्छन माथिबाट
मुना-मदन, गौतम बुद्ध
फुल्ने गर्छन सुन्दर फूल बम-गोलाको
समथर तराई, पहाड र हिमालमा
र उदाउछ हर बिहान
लाश बोकेर चिहानमा
फक्राउछ हरदिन
त्रास बोकेर गाऊ-बस्तीमा
यसरि नयन सामु जन्म भुमि लुटिदा
खै! कसरि दिऊ म दशैंको ?
मंगलमय शुभ-कामना |||

जिउदैमा कहाँ मानव हुन्छर ?
फत्फताउदैमा कहाँ खोर भत्कन्छर ?
आस्था विहीन, भाव विहीन कैदी
बिल्कुल वेठेगान मान्छे म
जुनबिनाको पूर्णिमा रात झैँ
ताराबिनाको औसी रात झैँ
यता निशुदनको निर्विकल्प पथमाथी
कच्-हरिको पर्चा फ्याक्दै
प्रतिरोधको दर्बिलो चेतना बाडदै
आगोको लप्कामा हिडिरहेको बेला
खै! कसरि दिऊ म दशैंको ?
मंगलमय शुभ-कामना ||||

No comments:

Post a Comment